राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपाबीच हालै भएको दुईबुँदे सहमतिपछि सरकारसँगको सहकार्यका थप ढोकाहरू खुल्दै जाने विश्वास व्यक्त गरेका छन् । सहमतिलाई लिएर संघीय सरकारमा आफूहरूको सहभागिता र प्रदेश– २ सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा भने कुनै सत्यता नभएको उनले दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक महतोले नेकपा र राजपाबीचको दुईबुँदे सहमतिले प्रदेश– २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच संवाद जारी राख्ने स्पष्ट पारेको बताए । पछिल्लो दुईबुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात् संवादहीनताको अवस्थाको भने अन्त्य गरेको उनले स्पष्ट पारे ।
उनले भने– ‘हामीले सरकारबाट समर्थन फिर्ता लिएपछि डेडलकको अवस्था थियो, यो दुईबुँदे सहमतिले संवादहीनता तोड्ने काम गर्नेछ । देशका समसामयिक राजनीतिक विषयमा पार्टीका माग र मुद्दामा संवाद हुन्छ । यो सहमतिले राजपा र नेकपाबीचको संवादलाई पुनः प्रारम्भ गर्नेछ ।’
उनले भने– ‘हाम्रो मागप्रति सरकारको रवैया के हुन्छ ? हामीले उठाएका संविधान संशोधनको माग, हाम्रा नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका झूठा मुद्दा फिर्ताको माग, रेशम चौधरीको रिहाइलगायतका माग छन्, यसमा सरकारको रवैया सकारात्मक भए हाम्रो व्यवहार पनि सकारात्मक हुन्छ ।’ केन्द्रीय सरकारमा सहभागिताको सम्भावना समेत घुमाउरो भाषामा उनले स्वीकार गरेको सम्बन्धी यो खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।