नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय समितिको जारी बैठकबाटै १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न केन्द्रीय नेतृत्वलाई दबाव दिएका छन् ।
आइतबार काठमाडौंमा सम्पन्न १७ जिल्लाका सभापतिको भेलाले भागबण्डाको राजनीति अन्त्य गरी १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो । भेलाको निर्णयबारे जानकारी दिँदै काभ्रे सभापति मधुप्रसाद आचार्यले भने– ‘समय घर्केपछि गठन गरिने विभागलाई पनि नमान्ने निर्णय भेलाले गरेको छ ।’
उनका अनुसार विधानले महाधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने किटान गरेकाले समय घर्केपछि विभाग गठन गर्नु सही छैन । पार्टीमा भागबण्डा र गुटबन्दी बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै भाग माग्ने र दिने दुवै प्रवृत्ति गलत भएको निष्कर्ष जिल्ला सभापतिहरूले निकालेको खबर रामकृष्ण चापागाईंको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।