नयाँ सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ–आफ्नै अडान कायम राखेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङ वा उपसभामुख शिवमाया तुम्बाहाङ्फेमध्ये एकलाई र अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडान लिएका छन् ।
पार्टी एकता हुनुपूर्वको सहमतिअनुसार पूर्वमाओवादीले सभामुख पद लिएकाले सोही आधारमा सभामुख पदमा अडान लिन प्रचण्डलाई पूर्वमाओवादीहरुले सल्लाह दिएको बुझिएको छ । ओलीले भने एकीकरणपूर्वको सहमतिभन्दा पनि नयाँ परिस्थितिअनुसार अगाडि बढ्नुपर्ने तर्क गरिरहेका छन् ।
तर, पूर्वमाओवादी समूहले अडान कायमै राखिरहेको अवस्थामा उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउने तयारी भइरहेको ओलीनिकट एक नेताले बताएका छन् । उनलाई नै सभामुख बनाउन दबाब बढेको दाबी उनले गरेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।