चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो । काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैजुमा घरै भाडामा लिएर बसेका उनीहरूको गतिविधिप्रति स्थानीयलाई शंका लागेको थियो ।
मन्त्रालयमा गतसाता बसेको सुरक्षा समितिको बैठकमा त्यसबारे गम्भीर चर्चा चल्यो । प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिनियाँ बसेका घरमा प्रहरी खटायो । भित्र छिर्न परिचयपत्र देखाउनुपर्ने र नौलो व्यक्ति देख्नासाथ शंकास्पद व्यवहार देखाउने उनीहरुको क्रियाकलापबारे प्रहरी महानिरीक्षकदेखि गृहमन्त्रीसम्म रिपोर्टिङ पुग्यो ।
सीआईबीमा आइतबार काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका अधिकारी सम्मिलित बैठक बस्यो । सोमबार संयुक्त रूपमा अपरेसन गर्ने निर्णयमा प्रहरी पुग्यो । त्यहीअनुसार अपरेसनको नेतृत्व सीआईबीले गरेको छ । त्यसमा बालाजु र महाराजगञ्ज वृत्तका प्रहरी समेत सामेल थिए । प्रहरीले तीन घरमा एकसाथ अपरेसन गर्दा चिनियाँ नागरिक झस्किएनन् मात्रै ‘तपाईंहरु को हो’ भन्दै प्रश्न समेत गरे ।
पर्यटक भिसामा आएका उनीहरूका राहदानी, ल्यापटप, मोबाइल र विभिन्न कागजपत्र प्रहरीले बरामद गरेको छ । अधिकांशको भिसा म्याद सकिएको पाइएको छ । होटल भनेर बसे पनि साइनबोर्ड समेत नभेटिएको प्रहरीले जनाएको छ । ‘पर्यटक बनेर बसेका छन्, होटल भनेर बसे पनि कुनै साइनबोर्ड छैन,’ सीआईबी प्रमुख डीआईजी नीरज शाहीले भने– ‘हामी उनीहरूलाई एकै स्थानमा भेला गरेर स्क्रिनिङ गर्छौं ।’
पछिल्लो पटक चिनियाँ ह्याकर पक्राउ परेका थिए । ठमेलमा पनि चिनियाँ नागरिकले शंकास्पद गतिविधि देखाउँदै आएको सूचना प्रहरीमा पुगेको थियो । मनमैजु, बाँसबारी र बूढानीलकण्ठबाट पक्राउ परेका चिनियाँले नेपाली कामदार राखेको पाइएको छ । घरभित्रै कार्यालय समेत बनाएका थिए । लामा टेबल र कुर्सी राखेका थिए ।
‘दर्जनौं चिनियाँ नागरिक घर भाडामा लिएर कुन उद्देश्यले काठमाडौंमा बसेका छन् भन्नेतर्फ अनुसन्धान गर्नु जरुरी थियो,’ डीआईजी शाहीले भने– ‘उनीहरू कहिले र कुन प्रयोजनमा आएको भन्ने रेकर्ड अध्यागमनमा हेर्छौं ।’ चिनियाँ नागरिकको काठमाडौंमा शंकास्पद गतिविधिसम्बन्धी यो खबर सुवास गोतामेको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।