newskoseli.Com

जाडोमा बढ्छ ३० प्रतिशत हृदयाघात : पक्षाघात पनि २० प्रतिशत बढी !

के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गराउनुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयमा भन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् । चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो, मुटुका धमनी पनि उति नै बिग्रँदै जान्छन् । जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले बताए । उनले भने– ‘जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ । यस्तै, पक्षाघातको पनि अन्य समयमा भन्दा २० प्रतिशत बढी सम्भावना रहन्छ ।’

चिकित्सकहरूका अनुसार जाडोको समयमा घाम कम हुने भएकाले ‘भिटामिन डी’ को कमी भई अन्य समयमा भन्दा ५ प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ । मानिसको जीवनशैलीका कारण ‘सडेन कार्डिएक डेथ’ हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. हरिहर खनालले बताए । उनले भने– ‘जीवनशैली, तनाव, अल्छीपना र मोटोपनाका कारण हृदयाघात हुने सम्भावना बढी हुन्छ त्यसैले जीवनशैली परिवर्तन गर्नु जरुरी छ, मुटुको समस्या देखिए तुरुन्त अस्पताल जानुपर्छ ।’

युवाहरू समेत जाेखिममा

नेपालमा केही वर्षयता युवाहरूको ‘सडेन कार्डिएक डेथ’ हुने क्रम बढेको मुटुरोग विशेषज्ञ बताउँछन् । यो अलिक बढी चिसो समयमा हुने गर्छ । चिकित्सकका अनुसार चिसोबाट जोगिनु नै यसबाट बच्ने उत्तम उपाय हो । विदेशमा गरिएका केही अध्ययनले पनि गर्मीभन्दा जाडोमा समग्रमा हार्टअट्याकका घटना ५० प्रतिशतले बढ्ने गरेको देखाएको छ ।

यस्तै, चिसोको समयमा गुलियो र बढी चिल्लो खाँदा सुगर, कोलेस्ट्रोल भई त्यसले हार्टअट्याक समेत हुन सक्छ । जाडो मौसम सुरु भएसँगै मुटु रोगीको संख्या पनि बढ्न थालेको छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ ।

जाडो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ । त्यसैले गर्दा समेत जाडो याममा रक्तचापसँगै मुटुको चाल समेत बढ्छ । तापक्रममा कमी आउनासाथ हाम्रो शरीरको रगतको नली खुम्चिन्छ अनि शरीरलाई न्यानो राख्न रगतको प्रवाह तीव्र हुन्छ । जाडो मौसम र मुटुको समस्यासम्बन्धी यो महत्त्वपूर्ण सामग्री प्रशान्त वलीको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर