हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत वितरण हुने अनुदानको चामल पाउन नेताको ‘चिट’ (सिफारिस) लिनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यसले गर्दा पहुँचवालाले पर्याप्त चामल पाउने तर सर्वसाधारण रित्तो हात फर्कनुपर्ने अवस्था कायम छ ।
अनुदानको चामल पाउन नेताको ‘चिट’ लिनुपर्ने भएपछि खार्पुनाथमा ‘चामल राजनीति’ चुलिँदै जान थालेको छ । यो वर्ष खाद्य संस्थानको खार्पुनाथ बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामलको कोटा छ । ठेकेदारले केन्द्रमा २ सय ७९ क्विन्टल झारिसकेका छन्, बाँकी चामल बाटोमै छ ।
कोटाअनुसार चामल आइनपुग्दै विगतमा जस्तै अहिले पनि स्थानीय नेताले ‘चामल राजनीति’ गर्न थालिसकेका छन् । बिक्री केन्द्रमा आइसकेको चामल सांसद र नेताको ‘चिट’ का आधारमा वितरण हुन थालेपछि नेकपा र नेपाली कांग्रेसबीच ‘चामल राजनीति’ को होड बढेको छ ।
ठेकेदारले अनुदानको चामल गाउँपालिकालाई बुझाउने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल बताउँछन् । केन्द्रमा आएको चामल प्रमुख जिल्ला अधिकारीले जारी गर्ने ‘कुपन’ र नेताको ‘चिट’ का आधारमा बाँडिने खबर धनबहादुर बुढाको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।