सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीसँग दुईबुँदे सहमति गरेको राष्ट्रिय जनता पार्टी (राजपा) दबावमा परेको छ । साृ पार्टी सरकारमा जाने कि समाजवादी पार्टीसँग एकीकरण गर्नेतर्फ लाग्ने भन्ने विषयमा दबावमा परेको हो ।
दुईबुँदे सहमति भएको दुई दिनपछि संविधान संशोधनमा सरकारले बेवास्ता गरेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजपालाई सरकारमा सहभागी गराउने तयारीमा रहेको बताइएको छ । तर, राजपाले सरकारमा सहभागी हुनका लागि पहिलो सर्तका रूपमा संविधानकै अडान दोहोर्याएको छ । राजपाले संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दाको खारेजी, उपसभामुख आफूले पाउनुपर्ने, सरकारमा सहभागी हुँदा पाउने मन्त्रालयलगायतका विषयमा ‘प्याकेज’ मै सहमति खोजेको छ ।
सरकारले वातावरण बनाएको अवस्थामा मात्र सरकारमा जान सक्ने विषयमा सोच्न सकिने राजपाको अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले बताए । उनले भने– ‘सरकारले संविधान संशोधनको ग्यारेन्टी गर्नुपर्छ, हाम्रो मुख्य माग नै संविधान संशोधन हो, त्यो सम्बोधन भएपछि सरकारमा सहभागी हुन हामीलाई कुनै गाह्रो छैन ।’
राजपा सरकारमा सहभागी हुने वातावरण तयार भैसकेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएको दलसँग गरिएको दुईबुँदे सहमति नै सरकारमा आउने वातावरण हो’– बाँस्कोटाले भने । आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन सक्ने उल्लेख गर्दै अहिले संविधान संशोधनको मागको अर्थ नभएको उनले बताएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।