newskoseli.Com

देशभर अझै चिसो बढ्ने, बिहीबार र शुक्रबार पानी पर्ने !

यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो अझ बढ्ने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौंमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम रेकर्ड भएको छ ।

आइतबार बिहान १ डिग्री तापक्रम रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०.५ डिग्रीभन्दा बढ्दो क्रमकै तापक्रम हो । हरेक वर्षको डिसेम्बरको मध्यदेखि चिसो बढ्ने भए तापनि यसपालि अलिक छिट्टै चिसो बढेको महाशाखाको भनाइ छ ।

‘चिसोसँगै हिमाली भेगमा हिउँ पर्ने, पहाड र तराईमा हुस्सु र शीतलहर चल्ने क्रम जारी छ,’ मौसमविद् बरुण पौडेलले भने– ‘यसले जनजीवन कष्टकर बनेको छ ।’ उनले भनेझैं हिमाली भेगमा यतिबेला तापक्रम माइनसमा झरिसकेको छ । जोमसोम, मनाङ, मुस्ताङ, जुम्ला भेगमा माइनसभन्दा पनि तल तापक्रम झर्ने क्रम जारी छ ।

मनाङमा माइनस १९ डिग्री तापक्रम रेकर्ड भइसकेको छ । जुम्लामा आइतबार बिहान केही बढेर माइनस ५.५ डिग्री न्यूनतम तापक्रम रेकर्ड भएको छ । काठमाडौंपछि अर्को चिसो सहर सुर्खेतको वीरेन्द्रनगर बनेको छ । चर्को शीतलहरसँगै यहाँको तापक्रम आइतबार २.४ डिग्री न्यूनतम भएको छ । त्यसपछि ताप्लेजुङ र दिपायल अर्को चिसो स्थानका रूपमा रहेका छन्, जहाँ २.६ डिग्री न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

त्यसपश्चात् डडेलधुरामा २.७ डिग्री, दाङ ३.५, पोखरा ३.७, ओखलढुंगा ५, धनकुटा ५.८, धनगढी र सिमरामा ७ डिग्री तापक्रम रेकर्ड भएको छ । त्यस्तै, भैरहवा ७.५, विराटनगर ७.६ र नेपालगञ्जमा ८ डिग्री न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

चिसो अझै बढ्ने

काठमाडौंलगायत देशभर अझै केही हप्ता चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार चिसो बढेसँगै बाक्लो हुस्सु र कुहिरोको चाप पनि बढ्दो छ । पश्चिम तराईमा लागेको कुहिरो र हुस्सु आइतबार अपराह्नपछि केही हटेको छ, जसका कारण यस क्षेत्रका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुरको जनजीवन प्रभावित बनेको छ ।

मध्य तराई क्षेत्रमा भने साँझसम्म नै बाक्लो हुस्सु र कुहिरो रहने अवस्था छ, जसका कारण चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी क्षेत्रमा घाम कम लाग्ने र शीतलहरले जनजीवन असर परेको छ । त्यस्तै, पूर्वी तराईको कुहिरो र हुस्सु कायम रहँदा घामको ताप कम मात्र धर्तीको सतहमा पुगेको छ । त्यस क्षेत्रका महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा क्षेत्रमा चिसोको प्रभाव बढेको छ ।

बिहीबार र शुक्रबार पश्चिमी वायु सक्रिय हुँदा पानी पर्ने सम्भावना छ, जसका कारण केही दिनमा थप चिसो बढ्ने विभागले पूर्वानुमान गरेको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर