घर भाडामा दिने घरबेटीमार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी सरकारले गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रमा ‘भाडामा बस्नेहरुमार्फत आपराधिक गतिविधि बढेको’ निष्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सोबारे छलफल भएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेत सहभागी बैठकमा गृहमन्त्री थापाले राजधानीसहित सहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।
‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय त्यस्ता गतिविधि बढेको विषयमा बैठकमा छलफल भयो, अब घरबेटीमार्फत भाडामा बस्नेहरुको विवरण राख्नेतर्फ तयारी अघि बढाउन भनिएको छ’– गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने ।
घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहित फोन नम्बर समेत भएको विस्तृत विवरण एवं घर छाडेको भए सोको समेत विवरण समेत नजिकको स्थानीय प्रहरी कार्यालयमा घरबेटीले दिनुपर्ने छ । घरमा भाडामा बस्नेहरुको विवरण अद्यावधिक गरी राख्नेतर्फ आवश्यक प्रक्रिया सुरु गरिसकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।