नेपालले कालापानी आफ्नो भनेर निरन्तर दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको ‘सार्वभौम क्षेत्र’ भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताए ।
साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने– ‘कालापानी क्षेत्र भारतको मानचित्र हो, सार्वभौम क्षेत्र हो ।’ सीमाको विषयमा कुनै विवाद नभएको समेत उनले दावी गरेका छन् । आफूहरूले जारी गरेको नयाँ नक्सा सही भएको दाबी उनले गरे । ‘हाम्रो नक्साले ठीकसँग भारतको भूभागलाई समेटेको छ,’ उनले भने– ‘यसले नेपाललाई कुनै असर गर्दैन ।’
नेपाललाई हानि–नोक्सानि पुर्याउने गरी आफ्नो राजनीतिक नक्सा नबनेको समेत पत्रकार सम्मेलनमा उनले बताएको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।