जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारीका लागि जापान लैजान लागेको जनाएको हो ।
यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उत्तीर्ण भएका थिए । नेपाल र जापान सरकारबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ (एमओसी) बमोजिम नेपालबाट नर्सिङ केयर गिभरको लागि पुनः परीक्षा गर्न लागिएको हो । जापान फाउन्डेसनले जनवरी र मार्चमा परीक्षा सञ्चालन गर्ने भएको छ । जनवरी ७ देखि २९ सम्म पटक–पटक गरेर १० दिनसम्म परीक्षा सञ्चालन हुनेछ ।
यसैगरी मार्चमा पनि ३ तारिखदेखि पटक–पटक गरेर १२ दिनसम्म जापानी भाषा परीक्षा सञ्चालन हुनेछ । परीक्षा युनिभर्सल ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्च्यिुट काठमाडौंमा हुने खबर गोपाल संग्रौलाको बाइलाइनमा आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।