पछिल्लो समयमा फेरि चरम विवादित रहेको सूचना प्रविधिसम्बन्धी विधेयकप्रति बैंकिङ क्षेत्रले पनि असहमति व्यक्त गर्न थालेको छ । आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रवधान रहेको भनी आलोचित यस विधेयकका केही दफाले बैंकिङ क्षेत्रलाई समेत गम्भीर प्रभाव पर्ने बताउँदै अहिले उक्त विधेयकमार्फत बैंकिङ क्षेत्रलाई पर्ने असरका विषयमा नेपाल बैंकर्स संघले आन्तरिक अध्ययन गरिरहेको छ ।
संघका अनुसार विधेयकको दफा ६८ र ८१ ले बैंकिङ क्षेत्रलाई अप्ठ्यरो पार्ने देखिन्छ । विधेयकको दफा ६८ मा विद्युतीय रुपमा गरेका सूचनाको आदान–प्रदान, प्रशोधन तथा संचय गर्दा सम्बद्ध संस्थाले त्यसको गोपनीयता कायम गर्नुपर्ने व्यवस्था छ । सोही दफाको उपदफा ३ मा सरकारी, सार्वजनिक, वित्तीय तथा स्वास्थ्यसम्बन्धी निकायले तोकिएको विवरण विद्युतीय माध्यममा राख्दा नेपालबाहिर नजाने गरी सुरक्षित राख्नुपर्ने उल्लेख छ ।
बैंकहरुले विशेष गरी सोही दफामा नै असन्तुष्टि जनाएको खबर मिलन विश्वकर्माको बाइलाइनमा बुधबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।