newskoseli.Com

हात्ती र गैंडामा पनि टीबी रोग : १ वर्षमा ५ हात्ती मरे, मानिस जाँच्ने प्रयोगशालामै हात्तीको परीक्षण !

सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा पुस ८ मा ३८ वर्षको ‘पूजाकली’ नामक पोथी हात्ती मर्‍यो । २०३८ मा जन्मिएको पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग (टीबी) भएको थियो ।

‘फोक्सो बिग्रिएको थियो, पीप भरिएको थियो, यो क्षयरोगको लक्षण हो,’ निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भने– ‘कहिलेकहीं निमोनियामा पनि यस्तो देखिन्छ । यसको निर्क्योलका लागि ल्याब टेस्ट गर्न पठाएका छौं ।’ मरेको हात्तीको पोस्टमार्टम गर्ने चिकित्सकमध्येका एक हुन् डा. श्रेष्ठ ।

त्यही हात्तीको पोस्टमार्टममा खटिएका नेपाल प्रकृति संरक्षण कोष, सौराहाका पशु चिकित्सक डा. अमिर सडौलाले पनि त्यो हात्ती मर्नुको कारण क्षयरोग नै भएको शंका गरे । ‘परीक्षण गरेर हेर्दा हामीलाई क्षयरोग नै हो भन्ने लागेको छ, प्रयोगशालाबाट यसको पुष्टि हुनु जरुरी छ’– उलने भने ।

पछिल्लो एक वर्षमा चितवन निकुञ्जमा पाँचवटा हात्ती मरेका छन् । २०७५ पुस २५ यता शमशेरकली, उमाकली, भोलाप्रसाद, मोतीप्रसाद र पूजाकली मरेका हुन् । तर, अहिलेसम्म यी हात्ती के कारणले मरे भनेर निकुञ्जले सार्वजनिक गरेको छैन ।

विगत डेढ वर्षमा निकुञ्जमा ४९ वटा गैंडा पनि मरेका छन् । पछिल्लो आइतबार विद्युतीय धरापमा परेर मरेको ८ वर्षीय भाले गैंडाबाहेक अन्य सबै कालगतिले मरेको निकुञ्जले बताउँदै आएको छ । कालगतिमा पनि के कारणले मरे भन्ने जवाफ निकुञ्जसँग छैन ।

तर, १ मार्च, २०१५ मा निकुञ्जको पश्चिमी क्षेत्र अमलटारीमा मरेको १८ वर्षीय पोथी गैंडामा समेत क्षयरोगको संक्रमण भेटिएको चिकित्सक डा. सडौला बताएको खबर वसन्त पराजुलीको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर