संघीय संसदको नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भूमिकामा रहेका अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन ।
नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन अध्यक्षद्वयबीच पुस ४ देखि बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो । सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ छलफल भए पनि आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको बुझिएको छ ।
सभामुखका लागि प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र प्रचण्डले अग्नि सापकोटाको पक्षमा अडान लिँदै आएका छन् । यता, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आफैंलाई सभामुख बनाउने सुनिश्चितता नगरेसम्म उपसभामुख पदबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा पटक–पटक सूचना टाँसेर संसदको बैठक स्थगित हुँदै आएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।