newskoseli.Com

‘ज्ञानेन्द्र शाहकै बाटोमा केपी ओली’ !

संसदीय समितिले पारित गरी संसदमा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लगाएको छ । सरकार नागरिकका अधिकार संकुचन गर्न सक्रिय रहेको आरोप लगाउँदै जनअधिकारलाई कुण्ठित गर्ने कानुनहरू फिर्ता लिन नेविसंघले आग्रह गरेको छ ।

नेविसंघले बिहीबार राजधानीको माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा बोल्ने प्रायः सबै वक्ताले केपी ओली नेतृत्वको वर्तमान सरकार राज्यका सम्पत्ति दुरूपयोग गरी व्यक्तिलाई पोस्न लागिपरेको आरोप लगाउँदै सूचना प्रविधि विधेयकमार्फत नागरिकलाई सरकारविरुद्ध बोल्न समेत प्रतिबन्ध लगाउन खोजेको धारणा राखे । सरकारविरुद्ध आक्रमक देखिएका नेविसंघका नेता–कार्यकर्ताले नेपाल ट्रस्ट, बालुवाटारको जग्गा सरकार सम्हाल्नेहरूले आफूनिकटहरूलाई दिएको आरोप लगाए ।

‘यति यति पानी, बालुवाटारकी रानी, नेपाल ट्रष्ट खानी, त्यति लेख्यो भने ५ वर्ष जेल जानी’ जस्ता प्लेकार्ड बोकेर सरकारी कदमको विरोधमा आयोजना गरिएको नेविसंघको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, गगनकुमार थापा र प्रदीप पौडेलले सम्बोधन गरे । निर्वाचनबाट आएको सरकार जनतका अधिकार खोस्न उद्धत रहेको आरोप लगाउँदै तीनै जना केन्द्रीय सदस्यले सूचना प्रविधिसम्बन्धी पछिल्लो विधेयकले जनताको मुख थुन्न खोजेको जिकिर गरे ।

जोशीको तुलना : ज्ञानेन्द्र शाह र केपी ओली !

विधेयकको दफादफामा आफूहरू छलफल गर्न तयार रहेको धारणा राख्दै बोल्ने र लेख्नेलाई मार्ने व्यवस्था राख्न खोजेको हो भनेर उनीहरूले सरकारसँग प्रश्न गरे । सरकारको कदमले लोकतान्त्रिक शासन व्यवस्थालाई नै कमजोर बनाएको भन्दै केन्द्रीय सदस्य जोशीले भने– ‘यो सरकार नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको लोकतान्त्रिक अधिकार खोस्न लागिपरेको छ, त्यहीअन्तर्गत जनताको अभिव्यक्ति स्वतन्त्रता खोस्ने गरी विधेयक ल्याइएका छन् ।’

‘नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्ने प्रयत्न धेरैले गरे तर आजसम्म कोही पनि सफल हुन सकेका छैनन्,’ जनताको अधिकारमाथि धावा बोल्नेहरू विगतमा पतन भएको इतिहास ताजै रहेको स्मरण गराउँदै जोशीले भने– ‘जसले जनताको लोकतान्त्रिक अधिकार खोस्ने दुस्साहस गर्‍यो त्यो भष्म हुन्छ भन्ने कुरा विगतमा ज्ञानेन्द्र र महेन्द्रका कदमपछि हामीले देखेका छौं ।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार समेत विगतमा राजा ज्ञानेन्द्रकै बाटोमा लागेको आरोप कांग्रेसी नेताहरूले लगाएको यो खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर