सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका तर्फबाट सभामुख पदमा उम्मेदवारी दिने निर्णय गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको छ ।
विगतमा सोही पार्टीको उम्मेदवार रहेर उपसभामुख बनेकी तुम्बाहाङ्फेले राजीनामा नदिई नेकपाले सभामुखमा उम्मेदवारी दिन नमिल्ने संवैधानिक व्यवस्था छ । सोही कारण पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिए पनि अध्यक्षद्वयसँग आफ्नो छलफल हुन बाँकी नै रहेकाले आफूले राजीनामा नदिने तुम्बाहङ्फेले बताएकी छन् । बरु संसद चलाएर सभामुखको चुनावी प्रक्रिया अगाडि बढाउने अभिव्यक्ति उपसभामुखले दिएपछि असोजदेखि खालि रहेको सभामुख पदको निर्वाचन प्रक्रिया अझै अन्योलमा परेको छ ।
सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्योलमा परेको हो । कार्यतालिकाअनुसार सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर, नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेकाले बैठक बोलाउने–नबोलाउने अन्योल बढेको संसद् सचिवालय स्रोतले जनाएको छ ।
‘नेकपाका तर्फबाट अहिलेसम्म खबर आएको छैन, सम्भवतः आइतबार पनि सभामुखको चुनावी प्रक्रियामा जान सकिँदैन होला,’ संसद् सचिवालय स्रोतले भन्यो– ‘बैठक बोलाएर सभामुखको चुनावी प्रक्रिया अलि ढिलो सुरु गर्न पनि सकिन्छ ।’
यसअघि दुई पटकसम्म दुई दिनभित्रै सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो । तर, नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ मा बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आइतबारको बैठक सकेसम्म सूचना टाँसेर स्थगित गर्नु नपरोस् भन्ने सोचिएको नेकपाका महासचिव विष्णु पौडेलले बताए । ‘ठ्याक्कै भन्न सकिने अवस्था छैन तर अहिलेसम्मको प्रगति हेर्दा आइतबार सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ला’– उनले भने ।
आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुअघि डा. शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिने सम्भावना छ । ‘नेकपाका नेताहरुसँग मेरो कुराकानी भैसकेको छैन, कुराकानीपछि औपचारिक धारणा भन्ने छु,’ तुम्बाहाङ्फेले भनिन्– ‘अहिलेसम्मको अवस्थामा आइतबार संसद बैठक चल्छ, सभामुखको चुनावी प्रक्रिया मैले सुरु गर्छु ।’
‘राजीनामा दिन्नँ, बैठक चलाउँछु’
नेकपाले तपाईंलाई राजीनामा गराउने निर्णय गरेछ, जानकारी भयो ?
थाहा छैन मलाई । यस्तो निर्णय गर्नुभएछ । ठीक छ, राम्रो हो ।
अब नेकपाले सभामुख पाउने बाटो खुल्यो ?
बाटो त उहिल्यैदेखि खुलेकै छ नि ! बन्द कहाँ छ त ? नेकपाले निकास निकालेन । अनि बाहिर अनेकथरी चर्चा मात्रै भए ।
अब तपाईंको राजीनामा आउँछ त ?
आइतबारको संसद बैठक म चलाइदिन्छु ।
बैठक चलाएर राजीनामा दिनुहुन्छ ?
त्यसपछि नेताहरुसँग कुरा गर्न बाँकी नै छ ।
तपाईंको व्यक्तिगत कुरा गर्न बाँकी रह्यो ?
मेरो कुरा त छँदैछ नि ।
नेकपा सचिवालयले निर्णय गर्नुपहिले तपाईंसँग छलफल भएको थियो ?
छैन, छैन ।
त्यसोभए सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनुहुन्छ ?
बढाउँछु ।
सभामुख चयनको अन्योलसम्बन्धी यो खबर बिनु सुवेदीको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।