सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै केही समयभित्रै परिणाम निस्कने जिकिर गरे ।
उनले भने– ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ । कतिपय साथी छुटेका छन् । रेशमलगायतका साथीहरू छुट्न बाँकी छ, छुटाइन्छ । हेर्नुहोला, केही समयभित्र यसको परिणाम निस्कन्छ ।’
एउटा विवादास्पद मुद्धाबारे सत्ताधारी पार्टीका शीर्ष नेताको अभिव्यक्तिसम्बन्धी यो खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।