नेपालले चीन सरकारलाई उपहारस्वरूप दिएको ‘सोल्टी’ नामको एकसिङे भाले गैंडा सांघाई पार्कमा मरेको छ । पेटको समस्याले गैंडा मरेको जानकारी चीनले नेपाललाई गराएको छ ।
त्यसको उमेर करिव चार वर्ष थियो । यो उमेर अर्धवयस्क (टिन–एज) हो । एकसिङे गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवालीका अनुसार गैंडा सामान्यतया २० वर्षसम्म बाँच्छ । एकसिङे गैंडा नेपाल र भारतमा मात्र पाइन्छन् ।
केही दिनअघि ‘सोल्टी’ मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले पुष्टि गरे । ‘के कारणले मरेको हो, विस्तृत विवरण चीनबाट आइसकेको छैन,’ भट्टराईले बुधबार भने– ‘प्राविधिकहरूले अध्ययन गरेपछि कारण थाहा हुनेछ ।’
सरकारले २०७५ भदौ पहिलो साता करिव साढे २ वर्षको ‘सोल्टी’ सहित ‘मितिनी’ नामको पोथी गैंडा चीनलाई हस्तान्तरण गरेको थियो । भाले मरेपछि सांघाई पार्कमा पोथी मितिनी एक्लिएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।