देशका विभिन्न स्थानमा हिउँदे वर्षा वर्षा चलिरहेको छ । चौथो चरणको हिउँदे वर्षाको यो श्रृंखला सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण चलेको हो ।
उक्त प्रणालीका कारण सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद बरुण पौडेलका अनुसार वर्षा भएसँगै तराईमा लागेको हुस्सु भने हटेको छ । यो हिउँदे वर्षापछि मौसममा सुधार हुने र क्रमशः जाडो घट्दै तातोपन बढ्ने उनले बताए ।
शुक्रबार दिनभर बदलीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुनेछ । अबको २४ घन्टा अत्यधिक चिसो हुने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि भने मौसममा सुधार आउनेछ । तर, अर्को साता फेरि फाट्टफुट्ट वर्षा हुने संकेत देखिएको मौसमविदको भनाइ रहेको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।