नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बन्न दौडधुप सुरु भएको छ । माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले सेवाबाट अवकाश पाउँदैछन् । आईजीपी खनाल र तीन एआईजीपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउने भएपछि फेरि पनि डीआईजीबाटै नयाँ आईजीपी बनाउनुपर्ने अवस्था आएको छ ।
यसअघि पनि सरकारले डीआईजीबाटै आईजीपी नियुक्त गरेको थियो । नेपाल प्रहरीमा अहिले तीन एआईजी छन् । अवकाश पाउन लागेका एआईजीपीहरु खनालका ब्याची हुन् । आईजीपी र तीन एआईजीसँगै १८ प्रहरी नायव महानिरीक्षक (डिआईजी) ले पनि सेवाबाट अवकाश पाउँदै छन् ।
खनाल, कार्की, राई र बस्नेत २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । ९०औं ब्याचमा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् । प्रदेश– १ का डीआईजी ठाकुर ज्ञवाली र सुदूरपश्चिमका डीआईजी तारणी लम्साल आइजीपीका दाबेदार देखिएका छन् । ९०औं ब्याचका वैकल्पिक उम्मेदवारका रूपमा ज्ञवाली, लम्साल र सूर्यप्रसाद उपाध्याय सेवामा प्रवेश गरेका थिए ।
ज्ञवाली र लम्सालभन्दा बढुवामा पछाडि रहेका कारण उपाध्याय भने आईजीपीको प्रतिस्पर्धामा छैनन् । बढुवा वरीयतामा उपाध्याय पछिल्लो ९१औंको ब्याचीका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि छन् । नयाँ आईजीपीको दाबेदारमा ज्ञवाली र लम्सालसँगै थापा, पाल, शाही र कार्की पनि छन् । यी सबै डीआईजी हुन् ।
ज्ञवाली र लम्सालमध्ये जो आईजीपी भए पनि पाँच महिनाका लागि मात्रै हुनेछन् । ज्ञवाली केही दिनअघि मोरङबाट काठमाडौं आएका छन् भने लम्साल २२ दिनको बिदामा छन् । उनीहरू दुवैले गृह मन्त्रालय र राजनीतिक दलका नेतासँग संगत बढाएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।