newskoseli.Com

‘विप्लवले राजधानी हान्ने’ सन्त्रासमा सरकार : सुरक्षामा कडाइ र उच्च सतर्कता !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘राजधानीलाई निसाना बनाउन सुरू गरेको’ हौवा मच्चाउँदै सुरक्षा व्यवस्था कडा पार्दै थप सतर्कता अपनाइएको दावी सरकारले गरेको छ ।

ललितानिवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको काठमाडौंस्थित ठूलो भर्‍याङमा रहेको घरमा बम विस्फोट गराएपछि विप्लव नेकपाको सक्रियता राजधानीमा बढेको निष्कर्ष निकाल्दै प्रहरीले राजधानीको सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको हो । अहिले सिंहदरबारको सुरक्षा व्यवस्था अझै बझबुत बनाइएको सुरक्षा निकायले जनाएको छ । सिंहदरबार वरिपरि २४सै घन्टा प्रहरी तैनाथ गरिएको छ भने विभिन्न गण तथा गुल्मबाट थप प्रहरी परिचालन गरी राजधानीमा सुरक्षा व्यवस्था मजबुत बनाउँदै लगिएको दाबी प्रहरीले गरेको छ ।

नियमित चेकजाँचलाई थप कडाइ गरिएको र २४सै घन्टा राजधानीमा प्रहरीको उपस्थिति बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उक्त बम विस्फोटपछि प्रहरीले ठाउँ–ठाउँमा छापा मारेर १ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । विप्लव नेकपाका गतिविधि हुने क्षेत्रलाई पहिचान गरी छापा मारिएको जानकारी एक प्रहरी अधिकारीले दिए ।

अहिले नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र उपत्यकाभर रहेका प्रहरी कार्यालयबीच समन्वय गरेर आशंकित क्षेत्रमा खानतलासी गर्ने र शंकास्पद गतिविधिमा संलग्न रहेकाहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम भएको पनि एसएसपी सुवेदीले जानकारी दिए । पछिल्लो पटक पक्राउ परेका विप्लवका केही कार्यकर्ताले नै चुहाएको सूचनाका आधारमा धरपकड गर्ने कामलाई प्रहरीले तीव्रता दिएको बताइएको छ ।

हातहतियार तथा विस्फोटक पदार्थसहित राजधानी छिरेका विप्लव नेकपाका कार्यकर्ताले आफ्नो उपस्थिति देखाउन राजधानीका संवेदनशील क्षेत्रमा अवाञ्छित गतिविधि गर्न सक्ने सूचना आएपछि अहिले राजधानीका केही ठाउँलाई ‘संवेदनशील क्षेत्र’ मान्दै सुरक्षा सतर्कता अपनाइएको उच्च सुरक्षा अधिकारीले जानकारी दिएको खबर दिपक रिजालको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर