newskoseli.Com

काठमाडौं सवारीको रुट परिवर्तन : कुन–कुन सवारी कहाँ चल्न पाउँछन् ?

यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार पारेको छ ।

तर, यसको कार्यान्वयनमा ढिलाइ भएको छ । सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा एक वर्षअघि नै विभाजन गरिएको थियो । रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार पारे पनि विभागले अझै कार्यान्वयन गरेको छैन । विभाग अब भने नयाँ रुट प्रणाली कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने– ‘अपडेट गर्दैछौं, जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने छौं, कार्यान्वयनमा जाने तयारीमा छौं ।’ तर, एक वर्ष अघिदेखि नै ‘कार्यान्वयनको तयारीमा रहेको’ विभागले जनाउँदै आएको छ । विभागका अनुसार प्राथमिक, द्वितीय र तृतीय गरी तीन तहका रुटको अवधारणा बनाइएको छ । प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ, जहाँ ठूला सवारी साधन र यात्रुवाहक सवारी साधन चल्न दिइने छ ।

द्वितीय रुटमा मझौला सवारी साधन सञ्चालन हुनेछन् । हाल नेपाल यातायात लगायतका मझौला सवारी साधनलाई द्वितीय रुटमा सञ्चालन गरिने छ । यो रुट प्राथमिक रुटभन्दा छोटो हुनेछ । तृतीय तहको रुटमा साना सवारी सञ्चालन हुनेछन् । ट्याक्सीलगायतका सवारी यसमा चल्नेछन् । यी छोटा दुरीका रुट हुनेछन् । यो रुट प्रणाली लागू भएपछि अहिलेजस्तो सबै सवारी साधन एउटै रुटमा चल्न पाउने छैनन् ।

नयाँ रुट प्रणालीअनुसार एउटै रुटमा सबै गाडी गुड्न पाउने छैनन् । तोकिएको रुटमा तोकिएका सवारी मात्रै गुड्नेछन्, जसले गर्दा ट्राफिक व्यवस्थापन सहज भई दुर्घटनामा कमी आउने महानिर्देशक हमालको भनाइ रहेको खबर लक्ष्मण दर्नालको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर