सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग शनिबार बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुःखेसो थियो– ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकें यार !’
प्रधानमन्त्री ओलीले ‘के भयो ?’ भनी सोध्न खोज्दाखोज्दै वाक्य नरोकी देउवाले भने– ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन्, पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन्, पार्टी नै छैनजस्तो भो, गतिविधि देखिएन भन्दै मेरो विरोध छ, मचाहिँ खुरुखुरु तपाईंहरुले भनेको मानेर नै सघाइरहेको छु, तपाईंहरुचाहिँ मैलाई पेल्नुहुन्छ ।’
उनले ‘म त बर्बाद भइसकें यार…’ भन्दै आफ्नो विवशता, निरीहता र आफू कमजोर हुँदाको वास्तविकता यसरी खुलासा गरेपछि प्रधानमन्त्री ओलीले उदारता देखाएका छन् । नेपालको संसदीय इतिहासमा सम्भवतः सत्तापक्षले प्रतिपक्षलाई यति ठूलो ‘सर्प्राइज’ शायदै दियो, जुन शनिबार प्रधानमन्त्री केपी ओलीले दिए । अर्थात्, सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगका लागि झन्डै आधा–आधा भागबण्डा पाइन्छ भन्ने कल्पनै नगरी बालुवाटार छिरेका कांग्रेस नेताहरु त्यो मात्रामा आ–आफ्नो सिफारिस गराउन सकेकामा पूरै सन्तुष्ट भएर फर्किएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।