newskoseli.Com

‘ममाथि राजनीतिक हिंसा भयो, नेकपाले अवसर गुमायो’ : पूर्वउपसभामुखकाे दावी

पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दाबी गरेकी छन् । उनले भनेकी छन्– ‘पार्टीले जुन अवसर प्राप्त गरेको थियो, त्यो गुमायो । किन गुमायो, त्यो त पार्टीले जवाफ दिने कुरा हो । पार्टीलाई राम्रो अवसर प्राप्त भएको थियो । मुलुकको महत्त्वपूर्ण अङ्गमध्ये व्यवस्थापिका (प्रतिनिधिसभा) को सभामुखमा एक्जुकेटिभ पर्सन जान सक्थ्यो । महिला मैले कहिल्यै पनि जोडेकी छैन । क्षमताको विकास गरेर अघि बढें अनि काम गरें । यो पद महिला भएको आधारमा मात्र पाउनुपर्छ भन्ने होइन, क्षमताको आधारमा पाउनुपर्छ । मलाई घाटा भएको छैन, घाटा त पार्टीलाई भएको छ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले आफूलाई सभामुख चयनमा बाधा बनेको आरोप लगाएकामा पनि उनले दुःख व्यक्त गरेकी छन् । उनले भनेकी छन्– ‘मैले स्पष्ट रुपमा भनेकी थिएँ– पार्टीले सभामुखको उम्मेदवारको टुङ्गो लगाओस् त्यसपछि म राजीनामा दिन्छु । तर, मलाई पार्टीकै जिम्मेवार नेताहरुले बाधक बनेको आरोप लगाए । बाधक भनेको मलाई अहिले पनि चित्त बुझेको छैन । यो बाधक भन्ने शब्द मेरा लागि सुपाच्य होइन । मेरा लागि अप्ठ्यारो शब्द हो । यसले मेरो मन र भावनामा ठेस पुग्यो । मैले पार्टीका दुवै अध्यक्षलाई भनेकी थिएँ– यो ममाथि भएको राजनीतिक हिंसा हो । यस हिंसाको बारेमा पार्टीभित्र छलफल हुनुपर्ने माग मैले गरेकी छु ।’

नेकपाले आफूमाथि अन्याय गरेको बताउँदै उनले भनेकी छन्– ‘नेकपाले ममाथि अन्यया गर्‍यो भन्ने नै हो । यस्तो अन्यायले मानिस स्वतः स्फूर्त ढङ्गले अघि बढ्ने कुरालाई असहज बनाइदिन्छ । मैले भ्रष्टाचार गरें कि यौनदूराचार गरे कि पदअनुसार आचरण गरिनँ कि ? यी प्रश्नको कुनै जवाफ पार्टीले दिएन । सम्भवतः मेरो प्रश्नको उत्तर पार्टीले कहिल्यै पनि दिन सक्दैन किनकि मैले गल्ती नै गरेकी छैन । अनुत्तरित हुँदाहुँदै म बाहिर निस्किएँ ।’

यस्ता दावी नेपाल समाचारपत्र दैनिकमा आइतबार प्रकाशित अन्तर्वार्तामा निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरेकी हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर