गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्वय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो ।
गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुने गरी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उपराष्ट्रपति कार्यालयका सचिव आचार्यको राजीनामा भने केही दिनअघि नै स्वीकृत भइसकेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको पदावधि २२ माघमा सकिने भए पनि उनीहरूले भने राजीनामा दिएका छैनन् । खनाल र ठाकुर २२ माघदेखि नै स्वतः पदमुक्त हुनेछन् । यससँगै २२ माघदेखि निजामती क्षेत्रमा ४ सचिव पद रिक्त हुने भएको छ ।
हाल एक सचिव पद रिक्त छ । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर सेवानिवृत्त भएपछि सो पद पनि रिक्त रहँदै आएको छ । सो पदसहित ५ सचिव पद रिक्त हुने अवस्थामा पुगेको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।