सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकले उपाध्यक्षमा पदस्थापन गरेसँगै वामदेव गौतम ‘शक्तिशाली’ भएका छन् । उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन् ।
विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेर पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम झन् शक्तिशाली भएका हुन् । नेकपामा करिव आठ लाख संगठित सदस्य छन् । संगठन विभागलाई नियमावलीअनुसार ६ वटा अधिकार रहेकामा अहिले थपेर ११ वटा पुर्याइएको छ । पार्टीमा दुई अध्यक्षपछि उपाध्यक्ष हुने भए पनि वरियतामा भने दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालपछि मात्रै उनको वरियता कायम छ ।
उपाध्यक्ष भएपछि दुई अध्यक्षबीचको सन्तुलन कायम गर्ने भूमिका पनि उनलाई आइपरेको छ । विधानले उपाध्यक्ष (गौतम) लाई अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्य प्रयोग र पालना गर्ने, अध्यक्षलाई सहयोग गर्ने र केन्द्रीय कमिटीले तोकेका अरु काम गर्ने भूमिका तोकेको छ ।
विधानकै आधारमा तयार पारिएको नियमावलीमा संगठन विभागको प्रमुखलाई पार्टी कमिटी परिचालनको अधिकार थपिएको छ । सो अधिकार र जिम्मेवारी पाएपछि बुधबारदेखि शनिबारसम्म उपाध्यक्ष गौतम २ नम्बर प्रदेशको पार्टी काममा निस्कने भएका छन् । गौतम निकट स्रोतका अनुसार पार्टीले दिएको जिम्मेवारीअनुसार सातवटै प्रदेशमा संगठन निर्माण र परिचालनमा जाने उनको योजना छ ।
दुई वर्षअघि संघीय संसदको निर्वाचनमा पराजित भएपछि उनले सांसद बन्न पटक–पटक निर्वाचन लड्ने असफल प्रयास गरेका थिए । संसद्मा जिम्मेवारी निर्वाह गर्न नपाएका गौतमलाई पार्टी परिचालनको जिम्मेवारी दिएर नेकपाको ‘केन्द्र भूमिका’ मा स्थापना गर्न लागिएको एक नेताले बताएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।