ललितानिवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनी समेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरूको अर्बौं लगानी जोखिममा परेको छ ।
आयोगले बुधबार ललितानिवासको जग्गा अनधिकृत खरिद–बिक्री गर्ने १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बैंकहरूको लगानी जोखिममा परेको हो । अनधिकृत खरिद–बिक्री गरिएको ललितानिवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरूले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए ।
जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो । अख्तियार स्रोतका अनुसार बैंकहरूले ललितानिवासमा करिव ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ ।
अख्तियारले विवादित क्षेत्रको जग्गा धितोमा राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको खबर परिवर्तन देवकोटाको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।