मागबमोजिम आदेश जारी गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी सिंहले काठमाडौंको छाउनीस्थित उनी बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छाड्नुपर्ने भएको छ ।
नेपाल ट्रस्टको कार्यालयले माघ ३ मा सार्वजनिक सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरुपमा खालि गर्न प्रेरणालाई सूचित गरेको थियो ।
सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ । सार्वजनिक रुपमा सूचना प्रकाशित गरेपछि ट्रस्टको कार्यालयले आफूलाई हटाउन खोजेको उल्लेख गर्दै प्रेरणाले सर्वोच्चमा निवेदन दिएकी थिइन् । सो निवेदन सर्वोच्चले खारेज गरिदिएपछि अबको १२ दिनभित्रै घर छाड्न प्रेरणा परिवार बाध्य भएको खबर आइतबारको विकास भट्टराईको बाइलाइनमा नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।