सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ । नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ ।
नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त मानपदवी पाउनेले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने व्यवस्था पनि गरिएको छ । नेपाल रत्नबाट वर्षमा एक जनालाई विभूषित गरिनेछ । त्यसबाट विभूषित हुनेले कूटनीतिक राहदानी, नामअघि नेपाल रत्न शब्द जोड्न र निःशुल्क हवाई यात्रा गर्न पाउने व्यवस्था समेत गरिएको छ ।
त्यसैगरी, सरकारले प्रदान गर्ने भनी प्रस्ताव गरिएका मानपदवी दुईवटा थप गरिएको छ । थपिएका ती मानपदवीका नाम ‘सगरमाथा सम्मान विभूषण’ र ‘गौतम बुद्ध पदक’ राखिएको छ । यसअघि वर्षमा २० जनालाई मात्र विभूषित गर्ने प्रस्ताव गरिएको थियो । ‘सगरमाथा सम्मान विभूषण’ भने विदेशी राज्यका पदाधिकारीलाई दिने व्यवस्था गरिएको हो ।
उक्त सम्मान पाउनेको मञ्जुरी भए सम्मानार्थ नेपाली नागरिकता समेत दिन सक्ने प्रस्ताव विधेयकमा गरिएको छ । उक्त विभूषण पनि वर्षमा एक जनालाई मात्र दिने प्रस्ताव गरिएको छ । अन्य मानपदवीका लागि राष्ट्रगौरव, राष्ट्रदीप, जनसेवाश्रीलगायत नाम दिइएको छ । राष्ट्रिय जीवनको कुनै क्षेत्रमा असाधारण, अद्वितीय र अतुलनीय योगदान पुर्याउनेलाई ती विभूषण दिने मस्यौदा विधेयकमा उल्लेख रहेको खबर भाषा शर्माको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।