चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) विश्वका करिव ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ ।
नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलो पटक हो । २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन । कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए ।
‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुने बाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ दाहालले शुक्रबार भने– ‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन सक्छ, कोही पनि विदेश जान चाहेको देखिएन ।’
रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कयौं गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ । नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।