newskoseli.Com

तर कल्पनाले पाइनन् नागरिकता !

कल्पनाकुमारी तामाङ (२१) लाई वकिल बनेर असहायको सेवा गर्ने ठूलो धोको छ । उनले सुर्खेतको अमरज्योति माविबाट एसईई उत्तीर्ण गरिन् । नेपालगञ्जस्थित धम्बोझी माविबाट कानुनमा ७० प्रतिशत अंक ल्याएर १२ कक्षा पास गरिन् ।

गत महिना मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सञ्चालित कानुन स्नातकको प्रवेश परीक्षामा सयौं प्रतिस्पर्धीलाई उछिन्दै पाँचौं नम्बरमा नाम निकाल्न उनी सफल भइन् । पढाइमा मेधावी यी छात्रालाई अब एउटै समस्या छ– त्यो हो नागरिकता ।

नागरिकता नपाउँदा उनले धेरै अवसर गुमाएकी छन् । काम गर्ने अवसर गुम्दा उनलाई पढाइ खर्च जुटाउन कठिन भइरहेको छ । ‘उच्च शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य छ तर नागरिकता नहुँदा धेरै अवसरबाट वञ्चित छु,’ तामाङले भनिन्– ‘नागरिकता नभएकै कारण लोकसेवाको परीक्षा दिन पाएकी छैन ।’

सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरीमा २०५५ भदौ ११ मा जन्मिएकी कल्पनाका बाबु रामबहादुर तामाङ २०५९ कात्तिक १० मा र आमा लक्ष्मी २०६६ पुस २० मा संसारबाट बिदा भए । आफन्त भनेका उनका भाइ नाता पर्ने नरेश तामाङ मात्रै छन् । नागरिकताविहीन नरेश बैङ्लोरस्थित एक होटलमा काम गरिरहेका छन् । कल्पनालाई नरेशले नै खर्च पठाइदिन्छन् ।

कानुनमा स्नातक भर्ना शुल्क ५० हजार लागेको छ । भर्ना गर्ने पैसा जोहो भए पनि प्रत्येक सेमेस्टरको शैक्षिक शुल्क, पुस्तक, खाने–बस्ने व्यवस्थाका लागि कल्पनासँग कुनै स्रोत छैन । उनले भनिन्– ‘भविष्यमा मजस्तै सहाराविहीन, बाबु–आमा गुमाएकाको घाउमा मलमपट्टी लगाउन मन छ तर मसँग उच्च शिक्षा अध्ययन गर्ने आर्थिक स्रोत छैन ।’

कक्षा ११ र १२ पढ्दा कल्पनालाई नेपालगञ्ज उपमहानगरपालिका– १२ निवासी समाजसेवी लता शर्माले सहारा दिएकी थिइन् । उनले स्नातकको भर्ना शुल्कका लागि पनि सहयोग जुटाउन सक्दो पहल गर्ने आश्वासन दिएकी छन् ।

किन पाइनन् नागरिकता ?

उनका बाआमा मजदुरी गर्थे । दुवैसँग नागरिकता थिएन । उनीहरूको निधनपछि सनाखत गर्ने नजिकका आफन्त नभएकै कारण सुर्खेत जिल्ला प्रशासन कार्यालयले कल्पनालार्य नागरिकता दिन आनाकानी गरेको छ ।

चौकुने गाउँपालिका– ४ का वडाध्यक्ष नवराज जैसीले नागरिकताका लागि अनुसूची १ अनुसार सिफारिस गरिसकेका छन् । सोही वडाका आठ जनाले वंशजको नाताले नागरिक दिन जायज छ भनी मुचुल्का पनि गरेका छन् । वडा कार्यालयले कल्पनाका बाआमाको मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कल्पनासँग उपलब्ध आवश्यक कागजपत्र अध्ययनपछि नागरिकता दिने–नदिने विषयमा निर्णय गर्न सकिने प्रतिक्रिया दिएको खबर नन्दराम जैसीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर