जुनसुकै मूल्यमा पनि ‘राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने’ होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् । कम नम्बर ल्याउने विद्यार्थीलाई दुर्व्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन् ।
यातनाकै कारण विद्यार्थीले आत्महत्या समेत रोजेका छन् । कानुनले विद्यार्थीमाथि कुटपिट र यातनालाई फौजदारी अपराध मानेको छ । तर, यातनामा संलग्न शिक्षकलाई सामान्य दण्डसम्म दिइए पनि विद्यालयलाई उन्मुक्ति दिने गरिएको छ । त्यसैले विद्यालयभित्रै विद्यार्थीमाथि वर्षमा यातनाका दर्जनौं घटना बढेका छन् ।
पछिल्लो पटक शनिबार जडीबुटीस्थित जागृति विद्यालयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छन् । उनले परीक्षामा थोरै अंक ल्याएको भन्दै ३४ विद्यार्थीलाई हात चिर्न लगाएकी थिइन् । कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले थुनामा राखेर मुद्दा चलाउने तयारी गरिरहेको छ ।
दुई महिनाअघि मात्र रुपन्देहीको सम्मरीमाई गाउँपालिका– ६, मर्चवारस्थित ज्ञानदीप बोर्डिङ स्कुलका विद्यार्थी मोहम्मद देवानले पनि गम्भीर चोट लाग्ने गरी शिक्षकको कुटाइ खाए । १७ पुसमा शिक्षक शैलेन्द्र बराईले लट्ठीले हान्दा देवानको आँखामुनि गम्भीर चोट लागेको थियो । २१ पुसमा शिक्षक बराईलाई मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा चलायो ।
तर, उनी अदालतबाट ७५ हजार रुपैयाँ धरौटीमा छुटे भने स्कुललाई कुनै कारबाही भएन । बराई अहिले पनि सोही स्कुलमा पढाइरहेको खबर नवराज मैनालीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।