बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछिको केही समय भने कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भीडभाड हुने छैन ।
मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालबाट ल्याइएपछि वातावरणका कारण कुनै प्रकारका संक्रमण हुन नदिन बालुवाटारमा नयाँ ‘सेटअप’ गर्न लागिएको हो । त्यसका लागि निवासभित्र र परिसरको विशेष सरसफाइ गरिँदै छ । संक्रमणका स्रोतहरूको पूर्ण निर्मलीकरणका उपाय अवलम्बन गरेपछि मात्र ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक छन् ।
प्रधानमन्त्री निवास पहिलेभन्दा केही सानो भएकाले सबै प्रकारको व्यवस्था मिलाउन कर्मचारीलाई हम्मे परिरहेको छ । ‘प्रधानमन्त्रीज्यूलाई संक्रमणको जोखिम छ, कसलाई कहाँसम्म जान दिने र कहाँ बसेर बैठक भेटघाट गर्ने भन्ने सेटअप मिलाइँदै छ,’ स्रोतले भन्यो– ‘मन्त्रिपरिषद् बैठकदेखि अन्य महत्त्वपूर्ण बैठक गर्नैपर्छ । भेटघाट हुन्छ । त्यस्तोमा कसलाई कतिसम्म नजिक जान दिने भन्ने चाँजोपाँजो मिलाइँदै छ ।’
प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यसँग पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा स्याहार गरेको अनुभव रहेका कारण खानपानलगायत उनको व्यक्तिगत सरसफाइलाई व्यवस्थापन गर्न धेरै कठिनाइ नहुने देखिए पनि अहिले ओली फरक भूमिकामा रहेकाले अन्य विषयको व्यवस्थापन गर्न भने चुनौती छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले प्रधानमन्त्री निवासमा नयाँ पूर्वाधार भने खडा गर्न लागिएको होइन, बरु भएका पूर्वाधारको उपयोग सहज हुने गरी गर्ने तयारी भइरहेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।