सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ ।
छलफलमा तीनै जना नेता पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । तीन नेताका बीच पछिल्लो छलफल दाहाल निवास खुमलटारमा भएको बताइएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।
नेकपाको पछिल्लो सचिवालय बैठकले गरेको उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको बताइको छ । गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टीको निर्णयविरुद्ध नै नेताहरु लागेपछि यो विषयमा अब के गर्ने भन्ने समेत छलफल भएको खबर सुभाष साहको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।