‘तपाईंहरुको दबाब भनौं कि सदाशयता मानौं, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो तर अहिले लाग्दैछ– म कार्यकारी हुँ कि होइन !’
पूर्वएमालेका केही नेतासहित अस्ति खुमलटारको एउटा जमघटमा सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले यस्तो कुरा सुनाएपछि एक–आपसमा हेराहेर गर्नुबाहेक विकल्प थिएन । ‘त्यही त, के गरेको होला यस्तो ?’ एक नेताले आश्चर्य त प्रकट गरे । तर, आश्चर्यमा चाहिँ सबभन्दा बढी त प्रचण्ड नै परेको व्यक्त भावले बुझाउँथ्यो ।
उनले भने– ‘वामदेवजीकै कुरामा पनि त संस्थागत निर्णय भएको हो तर आजसम्म कार्यान्वयन हुन सकेन ।’ खुमलटारको बुझाइअनुसार सभामुख चयन र वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गर्दा प्रधानमन्त्री केपी ओलीले आफू घेराबन्दीमा परेको महशुस गर्नाले प्रचण्डमा निहीत कार्यकारी अध्यक्षको भूमिका ‘खोसिएको’ हुनुपर्छ ।
त्यसपछिका बैठकमा अरुलाई जस्तै प्रचण्डलाई पनि बोलाइने, प्रधानमन्त्रीले आफ्ना कुरा सरसर्ती राख्ने र ‘आज कुरा यत्ति हो’ भनेर बैठक टुङ्ग्याइदिने चलन चल्यो । प्रधानमन्त्रीले नै बैठक टुङ्ग्याएपछि सचिवालय सदस्य उठ्ने भए । ‘होइन–होइन बाँकी छ’ भन्दा पनि नसुने झैं गरी प्रधामन्त्री बाटो लागेकामा प्रचण्डको चित्तदुखाइ रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।