पार्टी मिल्यो, नाम, झन्डा र संसदमा बस्ने लहरसम्म मिलेको छ । तर, मान्छेहरुको मन भने अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरबारमै देखियो । विषय, संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो ।
महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । नयाँ महासचिव सिफारिसबारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले डेढ महिनाअघि सभामुख निर्वाचित अग्नि सापकोटासँग कुरा गर्न चाहेका थिए । अग्निले आइतबार मनोहर अवकासमा जाने दिन गणेश तिम्सिनालाई बोलाएर भने– ‘साथीहरुले अहिले गोपाल योगीलाई कार्यवाहक बनाऔं भन्नुभएको छ ।’ गणेश बम्किए– ‘यस्तो मनलाग्दी नगर्नुहोस् न कमरेड ! सिस्टम हुन्छ, पार्टी छ, सल्लाह गर्नुपर्छ । अन्तिम समयमा यसो गर्ने भइयो भनेर म तपाईंको बोधार्थ बुझ्न बसेको हुँ र ?’
अग्निले सम्झाउन खोज्दै गर्दा गणेश जुरुक्क उठेर निस्किए । गणेश बाहिरिएको केही बेरमै कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे पुगिन् । उनले थपिन्– ‘संसद चलाउनेजस्तो संवेदनशील कुरा छ, न महासचिव बनाउन उमेर पुग्छ न क्षमताले भ्याउँछ । तपाईंहरुलाई मन लाग्दैमा हुन्छ ?’ खासमा पार्टीका नेताहरुबीच संसद सचिवालयमा कार्यरत सचिव डा. भरत गौतमको नाम सिफारिस गर्ने सल्लाह रहेछ । संसद सचिवालयमा कार्यरत तीन सचिवमध्ये सबैभन्दा सिनियर पनि उनै हुन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनासँग अग्नि सापकोटाको केही साताअघि मात्रै भनाभन चलिसकेको थियो, इन्टरनेसनल पार्लियामेन्ट युनियनको बैठकमा जानेबारे । गणेशले ‘म जान्छु’ भनेपछि अग्निले भनेका थिए– ‘तपाईं आफ्नो मर्यादामा बस्नुहोस्, मेरो काममा इन्टरफेयर नगर्नुहोस् ।’ त्यसपछि गणेशले चर्कंदै भने– ‘मलाई मर्यादा सिकाउने ? लु, संविधान निकाल्नुहोस्, राष्ट्रियसभा अध्यक्ष कहाँ हुन्छ, सभामुख कहाँ हुन्छ ?’ दुई ‘सम्माननीय’ हरुबीच चलेको अमर्यादित लफडासम्बन्धी यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।