newskoseli.Com

सरकारी स्वीकृतिविना हिँडडुल समेत रोकिने : ‘लकडाउन’ गर्न सरकारको यस्तो गृहकार्य !

कोरोनाभाइरस संक्रमणको सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे ‘लक डाउन’ समेत गर्न चार वटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ ।

संक्रमण फैलन नदिन र नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनुपर्ने आंकलन गर्दै गृह मन्त्रालयले यस्तो गृहकार्य गरेको हो । त्यसअनुसार संक्रमित भेटिए आवश्यकताअनुसार सम्बन्धित सहर वा निश्चित भूभागमा ‘लक डाउन’ गर्न सकिने खाका बनाउन लागिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा ‘लक डाउन’ को मोडालिटीबारे छलफल भएको थियो । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सम्भावित संकटको सामना गर्न सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।

सहभागी स्रोतका अनुसार, नेपालमा कोरोना संक्रमण नदेखिए पनि सरकारी तयारी मजबुत र व्यवस्थित बनाउन आवश्यक रहेको र त्यसका लागि लकडाउनसम्मकै कार्ययोजना बन्नुपर्ने नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीले बताए । संक्रमण भित्रन नदिन ‘नागरिकलाई सेल्टर एट होम’ को रणनीति लागू गर्नुपर्ने उनले बताए ।

बैठकमा सहभागी अधिकांशले सेनाको उक्त प्रस्ताव जायज रहेको भन्दै त्यसैअनुसार तयारी गर्न प्राधिकरणलाई सुझाव दिए । कोरोनाविरुद्ध सरकारी तयारी प्रभावकारी र मजबुत रहेको तर आवश्यक परे लकडाउन नै गर्ने गरी प्रतिकार्ययोजना बनाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए ।

‘अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन,’ उनले भने– ‘यो सुखद् हो तर हामीले तयारी पूर्णरुपमा गरेका छौं, संक्रमण देखियो भने त्यसविरुद्ध जुध्न लकडाउनदेखि सडकमा सरकारी स्वीकृतिबेगर आवत–जावत निषेध गर्नेसम्मको खाका बनाउँदैछौं ।’ सार्वजनिक यातायातमाथि अस्थायी रोक लगाउनेबारे पनि बैठकमा छलफल भएको थियो ।

संक्रमणविरुद्ध जुधिरहेका चीन, इटालीलगायत देशले अवलम्वन गरेका विधिलाई आधार मानेर योजना बनाउने क्रममा आफूहरु रहेको उनले बताएको खबर मातृका दाहालको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर