भारतसँगको सीमा नाकाबाट दैनिक हजारौं मानिसको आवत–जावत चलिरहेको छ । भारतबाट नेपाल भित्रने बढी छन् तर नाकाका हेल्थ डेस्क प्रभावकारी छैनन् ।
संक्रमण फैलिइसकेको भारतबाट भित्रनेको नाकामा प्रभावकारी स्वास्थ्य जाँच नहुँदा नेपालमा जोखिम बढेको छ । नेपालले भारतसँग जोडिएको करिव १ हजार ८ सय किलोमिटर सीमा नाकामा आवत–जावत थप नियन्त्रित गर्ने र भारतसँग समन्वय गरेर नाका बन्द गर्ने समेतको गृहकार्य गरेको छ । तत्काललाई भने आवत–जावतलाई सीमित नाकामा सीमित राख्न लागिएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना नियन्त्रण समन्वय समितको शनिबारको बैठकमा यसबारे छलफल भएको थियो । बैठकपछि अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने– ‘भारतसँग हाम्रा सन्धि–सम्झौताका कारण एकपक्षीय रूपमा सीमा बन्द गर्न गाह्रो छ, हामी भारतसँग कूटनीतिक रूपमा समन्वय गरिरहेका छौं, सीमित नाका प्रयोग गर्ने गरी नाका तोक्ने गृहकार्य गर्दै छौं । खुला र वस्ती तथा घर जोडिएको सीमा भएका कारण पूर्णरूपमा घोषित रुपले बन्द गर्न सकिँदैन तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित सीमा बन्द गर्ने तयारीबारे छलफल भएको थियो ।’
नेपाल–भारत सीमानाका र कोरोना संक्रमणको संवेदनशीलतासम्बन्धी यो खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।