कोरोनाभाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो ।
वीरगञ्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी मच्चियो । पर्साका सीडीओ विष्णुकुमार कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बनेको हो ।
खासमा व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको थियो । उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिएको थियो । पटना अस्पतालमा उपचाररत उनमा संक्रमण नभएको रिपोर्ट आएको रुंगटाका आफन्त तथा पूर्वसांसद अनिल रुंगटाले बताए । ‘उहाँलाई ज्वरो आएको हो, यस्तो बेलामा ज्वरो आउँदा स्वाभाविक रूपमा कोरोना टेस्ट हुन्छ तर उहाँको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ,’ उनले भने– ‘पटनास्थित मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ ।’
सीडीओ कार्की र सहायक सीडीओ बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई ‘क्वारेन्टाइनमा राख्न’ घरमा सुरक्षाकर्मी समेत पठाए । सांसद यादवले लेखेका थिए– ‘भारत, बिहार पटनाको पीएमसीएच अस्पतालमा भर्ती भएका वीरगञ्ज निवासी ७६ वर्षीय शिवकुमार रुंगटाको कोरोना (कोभिड– १९) पुष्टि भएको खबर छ । वीरगञ्ज आदर्शनगरका शिवकुमार रुंगटा खदान व्यवसायी हुन् ।’
तर, आफूले लेखेको खबर गलत साबित भएपछि यादवले सो ‘स्ट्याटस’ डिलिट गरेका (मेटेका) छन् । यसरी अफवाह फैलाउने सांसद र प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्नुपर्ने व्यापक दवाब सरकारमाथि परेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।