खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण तथा खाना पकाउने ग्यास (एलपी ग्यास) का पसल नियमित सञ्चालन गर्न सरकारले निर्देशन गरेको छ । पसलमा भीड नगर्न र सुरक्षित रही कम्तिमा १ मिटरको दुरी राखी लाइनमा बस्न समेत सरकारले आग्रह गरेको छ ।
मंगलबारदेखि सुरू भएको देशव्यापी लकडाउनका कारण खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री तथा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुका पसल समेत बन्द भएपछि यस्ता पसल नियमित सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयले औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध पानीलगायत दैनिक उपभोग्य सामग्री बोक्ने ढुवानीका सवारी सञ्चालन गर्न समेत निर्देशन दिएको छ । पसलमा काम गर्ने सबैलाई अनिवार्य मास्क लगाउन र समय–समयमा स्यानिटाइजर र साबुन–पानीले हात धुन पनि सरकारले आग्रह गरेको छ ।
यसका लागि ढुवानीकर्ता एवं बिक्रेता कम्पनीले मास्क, स्यानिटाइजरलगायत सुरक्षा सामग्रीको सुविधासहित मजदुरको व्यवस्था गर्नुपर्ने खबर बुधबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।