कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि बहुचर्चित मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् ।
‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने– ‘देशभर लकडाउन भएपछि हामीले आयोजनामा भइरहेका सबै काम रोकेका छौं ।’
एक साताअघि मात्रै खानेपानीमन्त्री बिना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दसैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने योजनाअनुसार काम भइरहेको भए पनि कोरोनाका कारण ढिलो हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताएको खबर दिनेश थापाको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।