सीमाना बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकै दिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
भारत र नेपाल दुवै ठाउँमा लकडाउन गरिए पनि मालवाहक गाडी नियमित आइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए । मङ्गलबार मात्र एकै दिन डिजेलका २३ वटा ट्याङ्कर, पेट्रोलका २० वटा ट्याङ्कर, एलपी ग्यासका ७ वटा बुलेट, मट्टितेलको १ ट्याङ्कर, तरकारी र फलफूल बोकेका २० वटा कन्टेनर तथा खाद्यान्न बोकेका ३० ट्रक भन्सार गराएर भित्रिएको उनले बताए ।
प्रमुख निरौलाका अनुसार तीन दिनयता सीमानालाई पूर्णरूपमा बन्द गरेर सवारी साधन र मानिसहरूको ओहोरदोहोरमा प्रतिबन्ध लगाइए पनि पेट्रोलियम पदार्थ र खाद्यान्नको आयातमा कुनै कमी आएको छैन । यसअघि आइतबार र सोमबार मात्र यो नाकाबाट ८८१ मेट्रिक टन चामल, २४५ मेट्रिक टन मकै र ८१४ मेट्रिक टन सिमी भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।