आफूलाई ‘वनको राजा’ भन्न मन पराउने राउटे समुदायको वस्ती पनि यतिबेला ‘लकडाउन’ मा छ । ‘जनतामा कोरोना संक्रमण नहोस् भन्नका लागि लकडाउन गरिएको’ भेरीगंगा नगरपालिका– २, सत्तरी, सुर्खेतनजिकै छिन्चु खोलामा बसोवास गरिरहेका ‘वनका राजा’ ले बताए ।
नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाका रुपमा चिनिएका राउटे दक्षिण एसियाको एक मात्र भ्रमणशील समुदाय हो । कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई वस्तीबाट बाहिर आउन नदिइएको र गैरराउटेलाई राउटेको वस्तीमा जान बन्देज गरिएको भेरीगंगा नगरपालिका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले बताए ।
‘हामीले वनका राजाको वस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं’– उनले भने । नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको जानकारी चन्दले दिए । खुला दिसा–पिसाब गर्ने र सरसफाईमा कमै ध्यान दिने यो समुदाय पनि कोरोनाको उच्च जोखिममा रहेको खबर भक्तबहादुर शाहीको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।