newskoseli.Com

दोस्रो कोरोना संक्रमित युवतीले नेपाललाई लगाइन् यस्तो गुन !

‘म पेरिसबाट दोहा हुँदै आज काठमाडौं आएँ । यहाँको परिस्थिति लाजमर्दो रहेछ । विमानस्थलको हेल्थ डेस्कमा एउटै व्यक्ति थिएनन्। हामीलाई कुनै फर्म भर्न दिइएन । न त अध्यागमनले नै केही सोधपुछ गर्‍यो ।

फ्रान्स, जहाँ राज्यले व्यवस्थित लकडाउन गरेको छ । त्यस्तो ठाउँबाट आउँदा मलाई लागेको थियो, यहाँ झन् व्यवस्थित चेकजाँच हुन्छ । म आएको जहाजमा नेपाली नै धेरै थिए । हामीलाई यहाँको अवस्थाबारे जति जानकारी दिनुपर्ने थियो, त्यो दिइएन ।

विमानस्थलमा ओर्लिएपछि बसमा भीडभाड, सामान बुझ्ने ठाउँमा पनि उस्तै भीड । इमानदारीसाथ भन्नुपर्दा यो लज्जास्पद अवस्था हो, यो अवस्थामा नेपालमा एक जना मात्रै कोरोना संक्रमित छन् भन्नु भ्रमपूर्ण छ ।’

(दोस्रो संक्रमित युवतीले फ्रान्सबाट काठमाडौं ओर्लिएलगत्तै सामाजिक सञ्जालमा लेखेको स्ट्याटस)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच देखेर फ्रान्सबाट आएकी युवतीले तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन् । यस्तो शैलीले कोरोना नियन्त्रण हुन सक्दैन भनेर उनले सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन् । यति मात्र होइन, परिवारसँग समेत उनले दुरी कायम गरेकाले संक्रमण फैलन पाएन । परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

४ चैतमा फ्रान्सबाट आएकी मैतिदेवी, काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा यो दोस्रो केस थियो । उनले विमानस्थलदेखि नै सावधानी अपनाउँदा कसैलाई संक्रमण नभएको ‘कन्ट्याक्ट ट्रेसिङ’ बाट पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डले भने– ‘सावधानी अपनाउँदा उहाँबाट कसैलाई पनि संक्रमण भएन, सचेत हुनुहुँदो रहेछ । उहाँले आफू र धेरैलाई जोगाउनुभएको छ, सबै यसै गरी जिम्मेवार हुने हो भने कोरोना नियन्त्रण गर्न सहज हुन्छ ।’

ती युवती कतार एयरको क्युआर ६५२ फ्लाइटमा दोहा हुँदै नेपाल आएकी थिइन् । उनलाई लिन बुबा विमानस्थल गएका थिए । विमानस्थलबाट आफ्नै निजी गाडीमा घरसम्म पुगेकी थिइन् । गाडी चालक, बुबा र युवतीले गाडीमा मास्क र स्यानिटाइजर प्रयोग गरेका थिए । उनी गाडीको पछिल्लो सिटमा अलगै बसेकी थिइन् । उनमा संक्रमणको लक्षण देखिएको थिएन तर घरमा आएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् । परिवारका सदस्यसँग भेटघाट मात्रै बन्देज गरिनन्, शौचालय समेत बेग्लै प्रयोग गरेको स्वास्थ्यकर्मीलाई बताएकी छन् ।

आफूसँगै फ्रान्सबाट फर्किएकी भियतनामकी साथीलाई संक्रमण देखिएपछि स्वदेश आएको चार दिनपछि परीक्षणका लागि उनी आफैं टेकु अस्पताल गएकी थिइन् । रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हाल टेकु अस्पतालमै उपचाररत ती युवतीको दोस्रो परीक्षण पनि पोजेटिभ देखिएको छ । तर, स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । परिवारका सदस्यमा भने संक्रमण देखिएको छैन ।

‘उनको परिवारका व्यक्ति तथा चालक सबैको परीक्षण भइसकेको छ, कसैलाई संक्रमण देखिएको छैन’– महाशाखाका प्रमुख डा. पाण्डेले भने । विमानमा उनको सिट आसपास बसेका १७ जनाको पनि परीक्षण भएको छ, रिपोर्ट नेगेटिभ आएको छ ।

युवतीमा संक्रमण पुष्टि भएपछि उनी र विदेशबाट आएका अन्यबाट काठमाडौंमा धेरैमा फैलिएको हुन सक्ने त्रासमा सरकार थियो । त्यसैले पनि ११ चैतदेखि सरकारले लकडाउन गरेको थियो । तर, युवतीले अपनाएको सावधानीका कारण काठमाडौंमा जोखिम केही हदसम्म कम भएको अनुमान सरकारले गरेको छ । ‘उनले लापरबाही गरेको भए केही दिनमै काठमाडौंमा धेरैलाई संक्रमण फैलने जोखिम थियो’– महाशाखाका एक अधिकारीले भने ।

ती युवतीसँगै विमानमा आएका बाग्लुङका दुई जनामा पनि संक्रमण पुष्टि भइसकेको छ । तर, विमानमा उनीहरू सँगै भने थिएनन् । बाग्लुङकी १९ वर्षीया युवती सिट नम्बर ‘बी’ तथा ६५ वर्षीया महिला सिट नम्बर ‘ई’ मा सँगै बसेका थिए । काठमाडौंकी युवती भने पछिल्लो सिटमा बसेकी थिइन् । बाग्लुङका दुई महिला बसेको सिट आसपासका १८ जनाको पनि परीक्षण भइसकेको छ ।

बाग्लुङका दुवै संक्रमित ४ चैतमा यती एयरलाइन्सबाट पोखरा गएका थिए । उनीहरूसँगै पोखरा गएकाहरूको समेत परीक्षण भइसकेको छ । त्यस्तै, विमानस्थलबाट बसपार्कसम्म ट्याक्सीमा तथा त्यहाँबाट स्कार्पियोमा सँगै बाग्लुङ गएका थिए । दुवैका परिवारको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर, उनीहरूले गाउँका अन्य व्यक्तिलाई पनि भेटेको भएकाले बाग्लुङमा संक्रमण फैलिएको आशंकामा र्‍यापिड टेस्ट सुरु गर्न लागिएको छ ।

तीन जना संक्रमित आएको कतार एयरको जोखिम लगभग सकिएको बताइएको छ । सो विमानमा १ सय ५८ यात्रु सवार थिए, जसमध्ये १० जना सम्पर्कमा आएका छैनन् । संक्रमित आसपास बसेकाहरूको रिपोर्ट नेगेटिभ आएकाले जोखिम कम भएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर