कोरोनाभाइरस (कोभिड— १९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन् । कीर्तिपुर– १० का स्थायी वासिन्दा गणेशमान महर्जनले ९ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन् ।
जैमिनी नगरपालिका, बागलुङकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन् । काठमाडौंमा आउँदा–जाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए । कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन् ।
‘जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्छ’ भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाइदिएको खबर दिलीप पौडेलको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।