newskoseli.Com

कोरोना संक्रमित पत्ता लगाउने टेलिकमको प्रयास : ‘अपरिचितको मिस्ड कल नफर्काउनोस्’

नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ता कोरोनाभाइरसबाट सङ्क्रमित भए–नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ, जसबाट प्रयोगकर्ताले आफ्नो अवस्थाको जानकारी दिन सक्ने छन् ।

नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्बरबाट *१४१९# डायल गरेर त्यहाँ सोधिएका प्रश्नको उत्तर दिनुपर्ने छ । त्यहाँ चरणबद्ध प्रश्न सोध्ने व्यवस्था टेलिकमले गरेको छ । ज्वरो आए–नआएको, खोकी लागे–नलागेको जस्ता प्रश्न त्यसमा सोधिएको छ । उत्तरमा दुईवटा मात्र विकल्प राखिएकाले प्रयोगकर्ताले १ वा २ अङ्क थिचेर प्रश्नको जवाफ दिन सक्ने छन् ।

प्रयोगकर्ताबाट प्राप्त उत्तरको आधारमा टेलिकमले लक्षणको विश्लेषण गर्ने छ । ‘उत्तरको आधारमा रातो, पहेंलो अथवा हरियो क्षेत्रमा नम्बर विभाजन गर्ने व्यवस्था गरेका छौं’– कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने । त्यसरी छुट्याइएको नम्बर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई उपलब्ध गराउने छ । जोखिमयुक्त रातो क्षेत्रमा परेका प्रयोगकर्तालाई समितिबाटै सम्पर्क गर्ने व्यवस्था हुने पनि अधिकारीले जानकारी दिए ।

‘अपरिचितको मिस्ड कल नफर्काउनोस्’

केही दिनयता विदेशको अपरिचित नम्बरबाट फोन आउने क्रम बढेकामा त्यस्ता नम्बरमा फोन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । खासगरी त्यस्ता अपरिचित नम्बरबाट एक घन्टी मात्र फोन आउने र लिङ्कसहितको म्यासेज पनि पठाएको पाइएको प्राधिकरणले जनाएको छ ।

विगतमा पनि यस्ता अपरिचित नम्बरबाट फोन आउने गरेकामा त्यस्ता नम्बरबाट मिस्ड कल आएको देखेमा फोन नगर्न प्राधिकरणले प्रयोगकर्तालाई सुझाव दिएको छ । त्यस्ता म्यासेज नपढ्न र त्यहाँ आएका लिङ्क पनि नखोल्न प्राधिकरणले सचेत गराएको छ । प्रयोगकर्ता आफैंले फोन र म्यासेज नगरेसम्म त्यसबाट कुनै हानि नहुने प्राधिकरणले जनाएको छ ।

केही दिनयता खासगरी नेपाली भाइबर प्रयोगकर्ताको नम्बरमा यस्तो एक घन्टीमै रोकिने गरी अपरिचित नम्बरबाट मिस्ड कल आएको पाइएको छ । पछिल्लो समय नेपालमा केही कम्पनीका ग्राहकका डाटा बाहिरिएपछि त्यहाँ प्रयोग भएको नम्बरमा यस्तो फोन आएको आशङ्का गरिएको छ ।

त्यसरी बाहिरिएको फोन नम्बर तथा इमेलको दुरुपयोग नगर्न पनि प्राधिकरणले यसअघि सचेत गराइसकेको छ । दुरुपयोग गर्नेलाई कानुनअनुसार कारबाही अगाडि बढाइने पनि प्राधिकरणले स्पष्ट पारेको खबर गोरखापत्र अनलाइनमा बुधबार प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर