राजधानीको कागेश्वरी मनोहरा नगरपालिका– ९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा गरिएको पछिल्लो कोरोनाभाइरस परीक्षणबाट २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोवास गर्ने सबै र अरु ब्लकमा बस्नेहरुमध्ये केहीको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि यहाँ बसोबास गर्ने परिवार हर्षित बनेका छन् ।
आफूलाई पनि सङ्क्रमण भएको हुन सक्ने भनी तीन दिनसम्म त्रसित भएकामा त्यो त्रास हटेकाले सबै खुसी हुनु स्वाभाविक भएको सनसिटी वेयलफेयर सोसाइटीका अध्यक्ष तिलक बस्नेतले बताए । अपार्टमेन्टका दुई जना (आमाछोरा) मा कोभिड– १९ को सङ्क्रमण पुष्टि भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) सुरु गरिएको थियो ।
नगर अस्पतालले सोमबार गरेको आरडीटी परीक्षणका क्रममा अपार्टमेन्टमा बस्दै आएका तीन जनाको रिपोर्ट नेगेटिभ आएसँगै प्रशासनले यहाँ तालबन्दी गरेको थियो । ती तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा छन् । तीन जनामध्ये एक महिला (बुहारी) को दोहोर्याएर गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी भने डिस्चार्ज भएकी छन् ।
बस्नेतका अनुसार सोसाइटीले अहिले पनि उनीहरुलाई भीडभाड नगर्न भनिरहेको छ । अहिलेसम्म तालाबन्दी (सिल) कै अवस्था रहेकाले सबै जना आ–आफ्नो फ्ल्याटमा बसिरहेको उनले बताए । कोभिड– १९ को सङ्क्रमण सुरु भएदेखि नै आवश्यक सावधानी अपनाइएको बताउँदै उनले भने– ‘त्यसैले पनि यहाँ सङ्क्रमण नफैलिएको हो ।’
स्वास्थ्य सेवा विभागले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र अरु ब्लकका पनि दीर्घरोगीको परीक्षण गरेको थियो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये सङ्क्रमित व्यक्तिको घरमा काम गर्दै आएका दुई जनाको भने पीसीआर प्रविधिबाट समेत परीक्षणका लागि स्वाब पठाइएको छ ।
अपार्टमेन्टभित्र दीर्घरोगी को–को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरूलाई प्राथमिकता दिइएको नगर प्रमुख कृष्णहरि थापाले बताए । अपार्टमेन्टमा बसोवास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरूको परीक्षण गर्नुपर्ने माग गरेका छन् भने नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुन सक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको छन् ।
अपार्टमेन्टभित्र बसोवास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण गर्न माग भएको छ । स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने हाल अपार्टमेन्ट आसपासमा द्रुत परीक्षणको योजना नरहेको बताए । अन्य व्यक्तिमा पोजेटिभ नपाइएपछि नजिकका कार्यालय र पसलका व्यक्ति त्रसित हुनु नपर्ने उनले बताएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।