सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको ‘कारबाही’ रोकिएको बताएका छन् ।
‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि ’ डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने श्र आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि, छापिएकै छ नि’– उनले भनेका छन् ।
‘तर, यो महामारीका विषयमा विज्ञ डाक्टर नबोलेर को बोल्ने भन्ने मेरो अडान अहिले पनि छ किनकि चेतना फैलायो भने संक्रमण रोकिन्छ त्यसैले चेतना फैलाउनु त हाम्रो धर्म हो भन्ने मेरो भनाइ छ,’ उनले थपेका छन्– ‘महामारीका बेला निरन्तर बिरामी जाँचिरहेको डाक्टरलाई स्वागत गर्न त पत्र अवश्य काटिएको थिएन । तयारी त कारबाहीकै थियो ।’
तर, आइतबार मन्त्रालयमा पुग्दा स्थिति फेरिइसकेको बताउँदै उनले भने– ‘असाध्यै राम्रोसँग कुराकानी भयो । म मन्त्रालयमा पुग्दा धेरै कुरा मिलिसकेको रहेछ । यसलाई कारबाही गर्छु भन्दै हिँडेका हुन् तर अहिले हामी सबै मिलेर जानुपर्छ भनेपछि मैले हुँदैन भन्ने कुरै भएन । मिलेर कोभिडविरुद्ध लडौं, आपसमा नलडौं त मैले नै भन्दै आएको छु । त्यसैले उहाँहरूको प्रस्तावलाई मैले सहर्ष स्वीकार गरें । तर, अब मिलेर अघि बढ्ने हो, कोरोनाविरुद्ध संगठित अभियानमा पहिलेजस्तै सक्रिय हुने हो ।’
डा. पुनलाई ‘ठेगान लगाउने’ स्वास्थ्य मन्त्रालय र बदनियतपूर्ण बिचौलियाहरुको हर्कत असफल भएको खुलस्त पार्दै चर्चित चिकित्सक पुनले दिएकाे अन्तर्वार्ता सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।