त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) बारे गहन अध्ययन थालेको छ । प्रहरीको प्रारम्भिक अध्ययनअनुसार सङ्क्रमितको समूहले मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार यात्रा वृत्तान्तसँगै त्रियुगा नगरपालिका– ३, भुल्केस्थित मस्जिद आसपासमा रहेका मुस्लिम समुदायका ५३ परिवारका करिव ६ सय जनाको स्वास्थ्य परीक्षण थालिएको छ । नमूना परीक्षण गर्ने क्रममा शनिबार पहिलो चरणमा ६९ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट आएकाको रेलको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक यात्रा वृत्तान्तअनुसार १२ भारतीय नागरिक ४ महिनाअघि नै विराटनगर आएका थिए । डिसेम्बर १० अर्थात् मङ्सिर २४ मा उनीहरू दिल्लीबाट रेलमार्फत जोगबनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको खबर भक्तिविलास पोखरेलको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।