शक्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढाकछोप गर्न तल्लीन रहेको वर्तमान सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि ‘कडा कारबाही’ गर्ने कदम चालिरहेको छ ।
त्यसैको पछिल्लो उदाहरण हुन्– ‘साइबर अपराध’ सम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय । सरकारले गरेका गलत कामबारे उनले सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आएका थिए । प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो ।
साइबर ब्युरोको तथ्याकंअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आलोचना गरेको’ आधारमा २० जनाभन्दा बढी ‘कारबाही’ मा परेका छन् । ‘साइबर अपराध’ गरेको आरोपमा साउनयता ९३ जना पक्राउ परिसकेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।